दफा २९
दण्ड सजाय
(१) यो ऐन अन्तर्गत कोषमा रहेको कुनै कागजातमा कसैले जानी जानी झुठ्ठा व्यहोरा पारेमा वा जानी जानी पार्न लागाएमा सो व्यक्तिलाई २ वर्ष सम्म कदै वा रू. दुईहजार सम्म जरिबाना वा दुवै सजाय हुनेछ र सो व्यक्तिको उक्त कामबाट कोषलाई हानी नोक्सानी हुन गएको रहेछ भने त्यसरी हानी नोक्सानी परेको रकम समेत निजबाट कोषलाई भराईनेछ ।
(२) कोषको संचालक, प्रशासक वा अन्य कर्मचारीले दफा २८ विपरीत कोषसंग ठेक्का पट्टा लिएमा वा ठेक्का पट्टामा साझेदार भएमा निजलाई दुई वर्षसम्म कैद वा पाँचहजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३) कुनै व्यक्तिले महालेखा परीक्षकबाट खटाइएको लेखा परीक्षकलाई निजको कामकाजमा बाधा विरोध गरेमा वा निजले कानून बमोजिम मागेको कागज पत्र र सूचना कुनै मनासिब कारणविना नदिएमा निजलाई रू. १००० एक हजारसम्म जरिबाना हुनेछ ।
(४) सञ्चयकर्ताको रकम कोषमा जम्मा गर्नु पर्ने जिम्मेवारी रहेको कर्मचारीले त्यस्तो रकम कोषमा जम्मा नगरेको पाइएमा त्यस्तो कर्मचारीलाई सञ्चयकर्ताको कोषमा जम्मा हुनुपर्ने रकम र सो रकममा कोषबाट पाउने ब्याज समेतको हिसाब गरी हुन आउने एकमुष्ट रकम बराबरको रकम जरिबाना हुनेछ ।
(५) कोषले सञ्चयकर्ताको रकम कोषमा जम्मा नगर्ने कर्मचारीलाई उपदफा (४) मा उल्लिखित जरिबानाका अतिरिक्त प्रचलित कानून बमोजिम विभागीय कारबाहीका लागि अख्तियारवाला समक्ष लेखी पठाउनेछ ।